फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणका लागि अभियान

Om Prakash Yadav news Desk     

पश्चिम नवलपरासी, २७ भदौ । पश्चिम नवलपरासीमा युवा समाजले फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा गर्ने अभियान संचालन गरेको छ ।  तिजको अवसर पारेर शुरु गरिएको फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा अभियानले अहिले तिब्रता पाएको नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले बताए । करिब एक सय युवाहरु जोडिएको नवलपरासी युवा समाजले जिल्लालाई नेपाल कै पहिलो फ्रि सेनेटरी प्याड युक्त जिल्ला बनाउनका लागि जिल्लाका स्थानीय सरकारहरु, जिल्लामा क्रियाशिल युवा संस्थाहरु, महिला अधिकारका क्षेत्रमा काम गर्ने युवाहरुको संयुक्त प्रयासमा जिल्लालाई फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा गर्ने काममा आफुहरु लागि परेको अध्यक्ष गिरीले बताए । जिल्लालाई देश कै पहिलो फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा गर्नका लागि ग्रामिण क्षेत्रमा रहेका प्रजनन योग्य महिलाहरुलाई सेनेटरी प्याडको प्रयोग र महत्वका बारेमा जागरण फैलाउने, सेनेटरी प्याड प्रयोग गर्नका लागि प्रोत्साहित गर्ने, ग्रामिण महिलाहरुमा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिने काम समाजले गरिरहेको उनले जानकारी दिए ।

युवा समाजले सबै सरकारी कार्यालयमा सहज उपलब्ध हुने गरी सेनेटरी प्याड उपलब्ध गराउनका लागि दवाव दिने,स्थानीय सरकारले सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउनका लागि बजेटको व्यवस्थापन गर्नुपर्ने लगाएतका विषयमा दवाव सृजना गरिएको बताए । ४ गाउँपालिका र ३ नगरपालिका गरी जम्मा ७ वटा स्थानीय सरकार रहेको नवलपरासीमा फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा गर्ने विषयमा अधिकांश पालिकाहरु सहमत भएका छन् । पाल्हीनन्दन गाउँपालिकाले यो वर्ष नै करिब ५ लाख बराबरको बजेट विनियोजन गर्ने सहमति भएको छ । पहिलो वर्ष विभिन्न दाता संघ संस्था, सरकारी निकायहरुबाट सहयोग लिएर सेनेटरी प्याड वितरण गरिने गरे पनि अर्को वर्षदेखि स्थानीय सरकारहरुलाई नै यो व्यवस्था गर्न दवाव दिने नवलपरासी युवा समाजले जनाएको छ । जिल्लाबाट छुट्ने लामो दुरीका यात्रु बाहक बसमा पनि महिलाहरुको सुविधाका लागि सेनेटरी प्याडको उपलब्धता सुनिश्चित गर्ने सहमति भएको छ । अहिलेको अवस्थामा नवलपरासी जिल्लामा करिब १ लाख ४ हजार ४०० प्रजनन योग्य महिलाहरुको संख्या रहेको अनुमान गरिएको छ । साभार मध्यान्ह