चोरीको आरोपमा प्रधानाध्यापक सहित दुई जना पक्राउ

आशिक हुसैन शेख     

रौतहट । विद्यालयको पेन्ट चोरी गरेको आरोपमा रौतहटका एक प्रधानाध्यापक सहित दुईजना सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका–५ शिवनगर घर भएका प्रधानाध्यापक वीरेन्द्र झा र शिक्षक गरुडा नगरपालिका ७ का हरिशचन्द्र किशोर मलिक रहेका छन् । सर्लाहीको बलरा नगरपालिका–४ मा अवस्थित रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक झालाई आइतवार बलरा चोकबाट पक्राउ गरिएको छ । रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयको भवन पेन्ट गर्नका लागि ल्याइएको पेन्ट चोरी गरी आफ्ना घर रौतहटको शिवनगर ल्याउने क्रममा उनलाई पक्राउ गरिएको छ । प्रधानाध्यापक झाले विद्यालयको पेन्ट आफना घरमा प्रयोग गर्न चोरी गरी ल्याइरहेका थिए । उनले विद्यालयको पेन्ट चोरी गरी आफ्ना घर रौतहट लगिरहेको अवस्थामा बलरा नगरपालिका ४ का वडा अध्यक्ष मणिभूषण सिंह सहित स्थानीयहरुले उनलाई पक्राउ गरी सीमा प्रहरी चौकी बलरामा बुझाएका थिए ।