सम्सी गाउँपालिका पानीको संकटमा, कार्यालयमा ताल्चा- जनतामा त्रास

महोत्तरी टुडे     

महोत्तरी टुडे सम्सी- महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा अहिले गम्भीर पानी संकट उत्पन्न भएको छ। गाउँमा खानेपानीको अभाव यति चरम छ कि स्थानीय बासिन्दाहरू बिहानैदेखि पानीका जार, बाल्टीन, गाग्री लिएर लाइनमा बस्न बाध्य छन्। न त खानेपानी उपलब्ध छ, न त खेतबारीमा सिंचाई गर्न सकिने अवस्था।

 

अर्कोतर्फ, गाउँपालिका कार्यालयमा भने ताल्चा लागेको अवस्था देखिएको छ। यस्तो विकराल परिस्थितिमा पनि पालिकाको जिम्मेवार निकायहरू जनताको समस्या समाधानमा चासो नदिएको स्थानीयहरूले गुनासो गरेका छन्।

“जनता भोकै प्यासै छन्, तर पालिका बन्द छ। समस्या के हो, कसरी समाधान गर्न सकिन्छ भन्ने छलफल पनि भएको छैन,” एक स्थानीय बासिन्दाले आक्रोश पोखे।

 

स्थानीयबासीका अनुसार, पालिकामा कुनै आपतकालीन योजना, वैकल्पिक व्यवस्था वा समस्या समाधानको पहल समेत गरिएको छैन। न त प्रदेश सरकार वा संघ सरकारसँग समन्वय गरी सहयोग मागिएको छ।

 

कार्यदल गठन र आपतकालीन योजना आवश्यक

 

स्थानीय सरोकारवालाहरूले भने सम्सी गाउँपालिकाले तुरुन्तै आपतकालीन कार्यदल गठन गरी खानेपानीको अस्थायी र दीर्घकालीन समाधानको पहल गर्नुपर्ने माग गरेका छन्। साथै, प्रदेश र संघ सरकारसँग आवश्यक स्रोत र सहयोग माग गर्नुपर्ने पनि उनीहरूको सुझाव छ।

 

"ताल्चा लगाएर समस्या भाग्दैन, जनता बोल्न थालेपछि आवाज दबाउन सकिँदैन,

शाहबाज हैदर आफ्नो फेसबुकमा स्टाटस लेख्दै टिप्पणी गरे, सामाजिक अभियन्ता तथा सम्सी गाउँपालिका बाट माओवादी केन्द्र बाट पालिका उमेदवारी हुनु थियो।

 

एकातिर जनता दैनिक जीवनका आधारभूत आवश्यकताबाट वञ्चित छन्, अर्कोतिर जनप्रतिनिधिहरू गम्भीर बन्न असफल छन्। यस्तो अवस्थामा सम्सी गाउँपालिका मात्र होइन, सम्पूर्ण मधेश प्रदेशमा खानेपानी र सिंचाई जस्ता आधारभूत समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।