युएई जाने तथा कार्यरत नेपालीका लागि महत्त्वपूर्ण सूचना जारी

महोत्तरी टुडे     

दुबई, जुन ९ । नेपाली महावाणिज्यदूतावास दुबईले युएईको दुबई तथा अन्य उत्तरी इमिरेट्समा रोजगारीका लागि आउन लागेका र हाल कार्यरत नेपाली नागरिकहरूका लागि दुई महत्वपूर्ण विषयमा आवश्यक सूचना जारी गरेको छ।

महावाणिज्यदूतावासका अनुसार युएईमा कार्यरत नेपाली नागरिक सम्पर्कविहीन हुने वा विभिन्न कारणले थुनामा पर्ने घटनामा वृद्धि भइरहेका कारण खोजी तथा उद्धार कार्यलाई सहज बनाउन आवश्यक कागजात सुरक्षित राख्न आग्रह गरिएको छ। रोजगारीका लागि युएई आउनुअघि नेपाली नागरिकहरूले आफ्नो राहदानी, भिसा तथा श्रम स्वीकृतिको स्पष्ट प्रतिलिपि परिवारलाई उपलब्ध गराई सुरक्षित राख्नुपर्ने बताइएको छ।

त्यसैगरी युएई पुगेपछि आफू कार्यरत कम्पनीको नाम, ठेगाना, सम्पर्क व्यक्तिको विवरण, बसोबास गर्ने क्याम्पको ठेगाना, क्याम्प प्रमुखको सम्पर्क नम्बर तथा इमिरेट्स आइडीको प्रतिलिपि समेत परिवारलाई पठाई सुरक्षित राख्न महावाणिज्यदूतावासले अनुरोध गरेको छ। आवश्यक विवरण अभावमा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य जटिल हुने जनाइएको छ।

महावाणिज्यदूतावासले अर्को महत्वपूर्ण सूचनामा नेपाली नागरिकको इमिरेट्स आइडी तथा मोबाइल सिम दुरुपयोगका घटनाप्रति पनि सचेत गराएको छ। बैंकबाट ऋण मिलाइदिने, भिसा लगाइदिने वा नेपाल पठाइदिने जस्ता प्रलोभन देखाएर इमिरेट्स आइडी प्रयोग गरी आर्थिक ठगी तथा कानुनी समस्यामा पार्ने घटना बढ्दै गएको जनाएको छ।

युएईमा मोबाइल सिम इमिरेट्स आइडीसँग जोडिने भएकाले आफ्नो नाममा रहेको सिम कार्ड अरूलाई प्रयोग गर्न नदिन तथा अरूको सिम प्रयोग नगर्न पनि आग्रह गरिएको छ। साथै बैंक कर्मचारीको नाममा फोन गरी कार्ड नम्बर, ओटीपी वा इमिरेट्स आइडी नम्बर माग्ने व्यक्तिहरूप्रति सतर्क रहन र कुनै पनि गोप्य विवरण साझा नगर्न चेतावनी दिइएको छ।

महावाणिज्यदूतावासले बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएको थाहा पाएपछि तत्काल सम्बन्धित बैंकलाई जानकारी गराउन समेत आग्रह गरेको छ। समयमै जानकारी नदिए कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन सक्ने जनाएको छ।

जनहितका लागि उक्त सूचनालाई व्यापक रूपमा प्रचार–प्रसार गरिदिन युएईस्थित नेपाली समुदाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई महावाणिज्यदूतावासले अनुरोध गरेको छ।

FB_IMG_1781001510360.jpg