कतारमा एनआरएनए र नेपाली रक्तदाता संघको संयुक्त आयोजनामा ‘बृहत् रक्तदान कार्यक्रम–२०२६’ हुँदै
आशिक हुसैन शेख दोहा, कतार — गैरआवासीय नेपाली संघ (एनआरएनए–एनसीसी) कतार र नेपाली रक्तदाता संघ कतारको संयुक्त आयोजनामा ‘बृहत् रक्तदान कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ। २३औँ विश्व रक्तदाता दिवसको अवसरमा आगामी १२ जुन २०२६ (शुक्रबार) का दिन यो कार्यक्रम आयोजना गरिने भएको आयोजकले जनाएको छ।
“एक थोपा मानवता, रक्तदान गरौँ, जीवन बचाऔँ” (One Drop of Humanity. Give Blood. Save Lives.) भन्ने मूल नारासहित आयोजना हुन लागेको यस मानवीय तथा जीवनरक्षक अभियानमा कतारमा रहेका सम्पूर्ण नेपाली संघ–संस्था, एनआरएनए अभियन्ता, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार, साहित्यकार, खेलाडी, पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूको सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ।
कार्यक्रम हमाद हस्पिटल ब्लड डोनर सेन्टर, दोहा–कतारमा बिहान ८:०० बजे देखि दिउँसो १२:०० बजेसम्म सञ्चालन हुनेछ।
आयोजकहरूले रक्तदानजस्तो महान् मानवीय कार्यमा सहभागी भई जीवन बचाउने यस अभियानलाई सफल, भव्य र ऐतिहासिक बनाउन सबैको उपस्थिति अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। साथै, सामाजिक एकता, सहकार्य र मानवीय उत्तरदायित्वलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई रक्तदानमार्फत मानव सेवामा योगदान दिन हार्दिक अनुरोध गरिएको छ।
