गृह मन्त्रालय फर्किंदै सुधन गुरुङ, आजै शपथको तयारी

महोत्तरी टुडे     

काठमाडौं, जेठ २६ — पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार उनको शपथग्रहण कार्यक्रम मंगलबार दिउँसो ३ बजेका लागि तय गरिएको छ।

सम्पत्तिसम्बन्धी विवाद चर्किएपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले आरोपबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शाहलाई गत शुक्रबार बुझाएको थियो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त प्रतिवेदन ग्रहण गरेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएका छन्।

समितिले निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको सम्पत्ति विवरण तथा गृहमन्त्री भएपछि सार्वजनिक भएका सम्पत्तिको तुलना गरी अध्ययन गरेको थियो। प्रतिवेदनअनुसार गुरुङका नाममा धनकुटाको कार्कीछाप (भेडेटार क्षेत्र) मा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ। साथै उनका बाबुको नाममा चितवनको भरतपुर–१८ मा ३० कट्ठा तथा बाजेको नाममा गोरखाको चुमनुव्री क्षेत्रमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ।

समितिले गोरखास्थित जग्गाको मूल्यांकन तुलनात्मक रूपमा कम हुने तथा चितवन र भेडेटारस्थित जग्गाको मूल्य केही उच्च भए पनि अस्वाभाविक सम्पत्ति आर्जन भएको निष्कर्ष निकाल्न पर्याप्त आधार नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिनिधिसभा निर्वाचनपछि गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो। राजीनामापछि भएको छानबिनको प्रतिवेदन सार्वजनिक भएसँगै उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किन लागेका हुन्।

रासस