भारतमा नक्कली ‘क्राइम ब्युरो’ चलाउने ६ जना पक्राउ
नयाँदिल्ली – भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ नामक नक्कली संस्था सञ्चालन गर्दै प्रहरीको भेषमा चन्दा असुलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
नोएडामा भाडाको घरमा कार्यालय खोलेर सञ्चालन गरिएको उक्त संस्थामा ‘प्रहरी जस्तै रङ र लोगो’ प्रयोग गरिएको थियो। प्रहरीले आइतबार राति जारी विज्ञप्तिमा जनाएको अनुसार, पक्राउ परेकाहरूले नक्कली कागजात र प्रमाणपत्र बनाएर पीडितहरूबाट चन्दा असुल्ने वेबसाइट सञ्चालन गरेका थिए। उनीहरूले आफूलाई ‘इन्टरपोल’ तथा अन्य अन्तर्राष्ट्रिय अपराध एकाइसँग सम्बद्ध भएको दाबी गर्थे।
प्रहरीका अनुसार, अभियुक्तहरूबाट धेरै मोबाइल फोन, चेकबुक, स्ट्याम्प सिल र परिचयपत्र बरामद गरिएको छ। केही हप्ताअघि नयाँदिल्ली नजिकैको भाडाको घरमा अवैध ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गर्ने एक व्यक्ति पक्राउ परेपछि यो अर्को ठूलो नक्कली नेटवर्क पक्रिएको हो।
गतपटक पक्राउ परेका व्यक्तिले ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’ लगायतका काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गर्दै विदेशमा रोजगारीको प्रलोभनमा रकम ठगी गर्ने गरेको आरोप थियो।
