सुन्दर सोनमा, स्वस्थ्य सोनमा अभियानअन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन
सोनमा, महोत्तरी – सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवको नेतृत्वमा सुरु गरिएको सुन्दर सोनमा, स्वस्थ्य सोनमा अभियानअन्तर्गत गाउँपालिकाका सबै वडामा ग्रामीण अल्ट्रासाउन्ड सेवा निरन्तर सञ्चालन भइरहेको छ।
२०७९ साल साउन २८ गते आयोजित विशेष स्वास्थ्य शिविरमा गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण तथा अल्ट्रासाउन्ड सेवा निःशुल्क प्रदान गरिएको थियो। उक्त दिनमा ४५ जना गर्भवती महिलाले सेवा लिएका छन्।

यस कार्यक्रम अन्तर्गत सोनमा गाउँपालिकाका ८ वटै स्वास्थ्य शाखा तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु सक्रिय रूपमा संलग्न छन्। प्रत्येक महिनामा पालैपालो सबै वडामा स्वास्थ्य टोली पुग्ने व्यवस्था गरिएको छ।
अभियानको उद्देश्य ग्रामीण तथा सुदूर बस्तीका गर्भवती महिलाहरुलाई समयमै स्वास्थ्य परीक्षणमा ल्याउने, गर्भावस्थामा देखिन सक्ने जटिलता पहिचान गर्ने र सुरक्षित मातृत्व सुनिश्चित गर्ने रहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।
अध्यक्ष यादवले भने, “यो सेवा हाम्रो प्राथमिकता हो। समयमै गर्भवती महिलाले स्वास्थ्य परीक्षण पाउन सके मातृ मृत्युदर र शिशु मृत्युदर दुवै घटाउन सकिन्छ।”
स्थानीय बासिन्दाहरुले यो सेवा ग्रामीण स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आग्रह गरेका छन्।
