गौशाला दुर्गा पूजा समितिको आय–व्यय विवरण सार्वजनिक, नयाँ समिति गठन
नरेन्द्र महतो, गौशाला बजार— गौशालास्थित दुर्गा पूजा समितिले २०८१ सालको दुर्गा पूजाको आम्दानी–खर्च विवरण सार्वजनिक गरेको छ।
आइतवार दुर्गा मन्दिर परिसरमा बसेको समितिको विशेष बैठकले गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो। कोषाध्यक्ष रविन्द्र कुमार साहका अनुसार २०८१ सालमा समितिले कुल आम्दानी रु. २१ लाख ८७ हजार ९२७ गरेको थियो। सोही अवधिमा खर्च रु. १६ लाख ३७ हजार ९२७ भएको र रु. ५ लाख ५० हजार बचत रहेको उनले जानकारी दिए।
यसैगरी, २०८२ सालका लागि नयाँ दुर्गा पूजा समिति समेत गठन गरिएको छ। गठन भएको समितिमा उपेन्द्र साह हलुवाई अध्यक्ष, राजाबाबु साह उपाध्यक्ष, हेमन्त कुमार साह सचिव, रविन्द्र कुमार सिंह कोषाध्यक्ष रहेका छन्। सदस्यहरूमा साजिस कुमार रजक, रञ्जित थापा, सुनिल मण्डल र प्रशान्त कुमार साह चयन भएका छन्।
नयाँ नेतृत्वले पारदर्शिता र धार्मिक कार्यक्रममा थप सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
