रौतहटको गौरमा दिनदहाडै छुरा प्रहार गरी एक युवकको हत्या

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क- रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित गौरीशंकर क्याम्पस नजिक एक १८ वर्षीय युवकको छुरा प्रहारबाट हत्या गरिएको छ। मंगलबार साँझ भएको यस घटनापछि स्थानीयवासीहरू त्रासमा परेका छन्।

प्रहरीका अनुसार, मृतक यमुनामाई गाउँपालिका–५ का अब्दुल लतिफ मियाका २२ वर्षीय छोरा सहाबुद्दिन मिया हुन्।

प्राप्त जानकारीअनुसार, अन्दाजी १८ वर्षको युवकमाथि अज्ञात व्यक्तिले छुरा प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा फेला परेका युवकलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

हत्या गर्ने व्यक्तिको पहिचान अझै नखुलेको भए पनि घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा केही शंका लाग्दा व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको र घटना सम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

घटनापछि आसपासका स्थानीयवासीहरूमा डर र आक्रोशको वातावरण देखिएको छ। क्याम्पस नजिकै दिनदहाडै यस्तो घटना हुनुले सुरक्षा व्यवस्था माथि प्रश्न उठेको उनीहरूले बताएका छन्।

 

प्रहरीले घटनाको विस्तृत विवरण केही समयमै सार्वजनिक गरिने जनाएको छ। रासस