चुनाव सुरु हुनुभन्दा ७२ घण्टा अगाडि नै नेपाल–भारतको सिमानाका बन्द गरिने भएको छ।
महोत्तरी टुडे डेस्क,महोत्तरी, फागुन १४ गते — आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न चुनाव सुरु हुनुभन्दा ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदान अवधिभर सीमा नाकामा कडाइ गरिने जनाएको छ। प्रशासनका अनुसार तोकिएको अवधिसम्म सीमा क्षेत्रबाट हुने आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ।
विदेश तथा भारतलगायत विभिन्न स्थानबाट मतदानका लागि नेपाल फर्किन चाहने नेपाली नागरिकलाई सीमा नाका सिल हुनुअघि नै स्वदेश प्रवेश गर्न आग्रह गरिएको छ। ढिलो गरी आउनेहरू सीमा क्षेत्रमा रोकिन सक्ने तथा मतदानबाट वञ्चित हुन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न तथा स्थानीय प्रशासनलाई सहयोग गर्न सबै सरोकारवालासँग अनुरोध गरिएको छ। प्रशासनले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सर्वसाधारणको सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ।

