कतारस्थित नेपालीहरूलाई शान्त, सजग र जिम्मेवार रहन एनआरएनए एनसीसी कतारको हार्दिक अपिल

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार – वर्तमान संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार ले कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका साथै अन्य समुदाय र अन्तर्राष्ट्रिय नागरिकहरूमा शान्त, सजग र जिम्मेवार रहन हार्दिक अपिल गरेको छ।

संघका अध्यक्ष कृष्ण पन्थी द्वारा जारी अपिलमा समुदायको सुरक्षा र कल्याणलाई सर्वोपरि राख्दै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ। साथै कतार सरकार तथा सम्बन्धित निकायहरूले जारी गरेका आधिकारिक निर्देशन, सुरक्षा मापदण्ड र सूचनाहरूको पूर्ण पालना गर्न सबैमा विशेष आग्रह गरिएको छ। ती निर्देशिकाहरू सार्वजनिक सुरक्षा सुनिश्चित गर्न जारी गरिएकाले जिम्मेवार सहभागिता अपरिहार्य रहेको जनाइएको छ।

संघले सामाजिक सञ्जाल वा अन्य सञ्चार माध्यममार्फत अपुष्ट, भ्रामक वा अफवाहपूर्ण सूचना आदान–प्रदान नगर्न समेत आग्रह गरेको छ। यस्ता गतिविधिले अनावश्यक त्रास, अन्योल तथा सामाजिक अस्थिरता निम्त्याउन सक्ने भएकाले आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरिएको छ।

अपिलमा यस संवेदनशील घडीमा धैर्यता, अनुशासन, आपसी सद्भाव र सहकार्य नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै समुदायबीच एकता कायम राखी संयमित र जिम्मेवार व्यवहार गर्न आह्वान गरिएको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारले सम्पूर्ण समुदायको सुरक्षा, शान्ति र स्थायित्वको कामना गर्दै आवश्यक परे सम्बन्धित निकायहरूसँग समन्वय गरी सहयोग गर्न सधैं प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

अन्त्यमा, सबैको सुरक्षा, शान्ति र समृद्धिका लागि प्रार्थना गरिएको छ।