टोकन प्रणाली हट्नेबित्तिकै ठूलो उपलब्धि: पहिलो दिनमै ३१०० जनाले पाए श्रम स्वीकृति।
महोत्तरी टुडे
चैत्र १७ २०८२
काठमाडौं- श्रम मन्त्री दिपक कुमार साह पदभार सम्हालेलगत्तै लागू गरिएको सुधारअन्तर्गत श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली हटाइएको छ। यसको प्रभाव पहिलो दिनमै देखिएको छ।
वैदेशिक रोजगार विभागले टोकन प्रणाली हटाएको पहिलो दिनमै ३१०० जनालाई श्रम स्वीकृति जारी गरेको जनाएको छ।
यसअघि टोकन प्रणालीका कारण सेवाग्राहीहरूले लामो समय कुर्नुपर्ने, लाइन बस्नुपर्ने र विभिन्न झन्झट सामना गर्नुपर्ने अवस्था थियो। तर नयाँ व्यवस्था लागू भएसँगै प्रक्रिया छिटो, सरल र व्यवस्थित बनेको विभागको दाबी छ।
यो निर्णयले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई ठूलो राहत मिलेको छ। साथै, सेवा प्रवाहमा पारदर्शिता बढ्ने र अनावश्यक ढिलाइ तथा बिचौलियाको प्रभाव घट्ने अपेक्षा गरिएको छ।
सरकारको यो कदमलाई डिजिटल र सुशासनतर्फको सकारात्मक प्रयासका रूपमा पनि हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
