काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
महानगरका अनुसार लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै बुढानीलकण्ठसम्म उत्तर–दक्षिण रुट तय गरिएको छ, जसको एकतर्फी दूरी करिब १६ किलोमिटर हुनेछ।
त्यसैगरी थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व–पश्चिम रुट सञ्चालन हुनेछ, जसको दूरी करिब २० किलोमिटर रहेको छ।
यी दुई रुटमा ४ वटा विद्युतीय बस सञ्चालन गरिने महानगरले जनाएको छ। सेवा सुरु भएसँगै साँझ ८ बजेदेखि राति ११ बजेसम्म हरेक २० मिनेटको अन्तरमा बस चल्नेछन्।
कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात अभावका कारण यात्रुहरूले महँगो भाडा तिर्नुपरेको र विशेषगरी महिला तथा विद्यार्थीहरू प्रभावित भएको उल्लेख गर्दै रात्रिकालीन सेवा आवश्यक भएको बताइन्।
बसहरूमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने सुरक्षाका लागि नगर प्रहरीसमेत खटाइने महानगरपालिकाले जनाएको छ। साथै, सेवा सुरक्षित, सहज र भरपर्दो बनाउने लक्ष्यसहित थप साझेदारीका लागि महानगर खुला रहेको बताइएको छ।
