मधेश युवा संघ द्वारा उपचारका लागि मो. जाबिर मान्सुरीलाई रु. २१ हजारभन्दा बढी आर्थिक सहयोग।

महोत्तरी टुडे     

आशिक हुसैन शेख- २३ चैत २०८२ (सोमबार) — धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१०, हारसर गाउँ निवासी मो. जाबिर मान्सुरीलाई उपचारका लागि नगद रु. २१,१०५/- आर्थिक सहयोग प्रदान गरिएको छ।

स्थानीय समाजसेवी युवा लक्ष्मी सरको पहलमा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूको साझा संस्था मधेश युवा संघ, कतारमा आवद्ध समाजसेवी युवाहरूबाट संकलित उक्त रकम पीडितकै घरमै पुगेर हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता लक्ष्मी सर, शम्भु चौधरी, सुरेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो।

उक्त अवसरमा पीडित मो. जाबिर मान्सुरीले आफ्नो कठिन अवस्थामा साथ दिने सम्पूर्ण सहयोगी दाताहरू तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सहयोगले आफूलाई नयाँ आशा र हिम्मत मिलेको बताएका छन्।

मधेश युवा संघ, कतार वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली युवाहरूको एक साझा, एकताबद्ध र समाजसेवामुखी संस्था हो, जसले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको छ। विशेषगरी मधेश क्षेत्रका विपन्न, बिरामी, असहाय तथा समस्यामा परेका परिवारहरूलाई आर्थिक, नैतिक तथा सामाजिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस संस्थाले स्थापना कालदेखि नै विभिन्न मानवीय कार्यहरू गर्दै आएको छ।

संस्थाले आपतकालीन स्वास्थ्य सहयोग, प्राकृतिक विपद् व्यवस्थापन, शैक्षिक सामग्री वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग, साथै सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको छ। विदेशमा रहेर पनि आफ्नो कमाइको केही हिस्सा समाजसेवामा समर्पित गर्ने युवाहरूको यो अभियानले समाजमा सहयोग र सहकार्यको भावना अझ बलियो बनाएको छ।

संस्थाका अध्यक्ष श्री प्रताप साहका अनुसार, “हामी जहाँ रहे पनि आफ्नो समाज र जन्मभूमिप्रति जिम्मेवार छौं। सानो प्रयासले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ हामी निरन्तर अगाडि बढिरहेका छौं।”

मधेश युवा संघ, कतारले आगामी दिनहरूमा पनि यस्ता मानवसेवामूलक कार्यलाई निरन्तरता दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ विभिन्न सामाजिक अभियानहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।