नयाँ वर्षसँगै मधेश प्रदेश लगायत मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै
महोत्तरी । विक्रम संवत् अनुसार नयाँ वर्ष २०८३ को सुरुवातसँगै मधेश प्रदेश तथा मिथिला क्षेत्रमा परम्परागत ‘जुडशीतल’ पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। वैशाख १ गतेदेखि सुरु भई दुई दिनसम्म मनाइने यस पर्वले शीतलता, सद्भाव र प्रकृतिसँगको सम्बन्धलाई झल्काउने विश्वास गरिन्छ।
मिथिलाञ्चलमा वैशाख १ र २ गते मनाइने यस पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ। परम्पराअनुसार पहिलो दिन कूलदेवताको पूजा गर्दै चना, जौ, मकै, गहुँ, चामल, कँगनो र मुँगजस्ता सात प्रकारका अन्नबाट बनाइएको सातु तथा सखरको सर्वत चढाइन्छ। त्यसपछि कूलपुरोहित, ब्राह्मण तथा साधुहरूलाई दान गर्ने चलन रहेको छ।
महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण कर्णका अनुसार गर्मी मौसमको सुरुवातसँगै जीवनमा शीतलता कायम रहोस् भन्ने कामनासहित ‘जुडशीतल’ मनाउने परम्परा रहेको छ। उहाँका अनुसार ‘जुड’ र ‘शीतल’ शब्दको संयोजनबाट बनेको यस पर्वले जीवनमा शान्ति र सन्तुलनको सन्देश दिन्छ।
पर्वको दोस्रो दिन घरघरमा ज्येष्ठ सदस्यहरूले आफूभन्दा साना सदस्यको टाउकोमा जल सिञ्चन गरी आरोग्यता, दीर्घायु र सुख–समृद्धिको आशीर्वाद दिने चलन छ। साथै, घर–आँगन तथा सार्वजनिक स्थानहरूमा पानी छर्केर वातावरणलाई शीतल बनाइन्छ।
यस अवसरमा चना वा बदामको सातु, दाल, मुँगको तरकारी, बरी तथा दहीबाट बनेको कढी जस्ता परिकार खाने परम्परा छ। संस्कृतिविद् ध्रुव रायका अनुसार नयाँ वर्षले जीवनमा शीतलता प्रदान गरोस् भन्ने नै यस पर्वको मुख्य सन्देश हो।
मिथिला संस्कृतिमा सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि राम्रो वर्षा र उब्जनीको कामना गर्दै धुलो, माटो र हिलो खेल्ने परम्परा पनि रहेको छ। यसले कृषिमा निरन्तरता र प्रकृतिसँगको सम्बन्धलाई मजबुत बनाउने सन्देश दिने विश्वास गरिएको छ।
स्थानीय ज्येष्ठ नागरिक रामउदय यादवका अनुसार खेतबारी तथा रुखबिरुवामा पानी सिञ्चन गर्ने परम्पराले वर्षभरि चिस्यानको कमी नहोस् भन्ने कामना झल्काउँछ।
मधेश प्रदेशका महोत्तरी, धनुषा, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सा लगायतका जिल्लाका साथै भारतको बिहार राज्यअन्तर्गत सितामढी, परिहार, बथनाहा, भिठ्ठामोड र मधुबनी लगायतका क्षेत्रमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।
परम्परागत रूपमा मनाइने जुडशीतलले आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
