सेहरामा मदरसा सञ्चालनलाई लिएर विवाद, स्थानीयद्वारा मोलाना बसरुद्दीनमाथि गम्भीर आरोप

महोत्तरी टुडे     

 वैशाख २९ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ६ सेहरास्थित मुस्लिम समुदायभित्र मदरसा सञ्चालनलाई लिएर विवाद उत्पन्न भएको छ। स्थानीय बासिन्दाले मोलाना मो. बसरुद्दीनमाथि समुदायको जानकारी र सहमति बिना आफ्नै बासस्थानमा मदरसा सञ्चालन गरेको तथा त्यसले भविष्यमा सामाजिक तथा धार्मिक वातावरणमा नकारात्मक असर पार्न सक्ने आरोप लगाएका छन्।

स्थानीयवासीका अनुसार छात्रा विद्यालयअर्थात् बनातको नाममा सञ्चालन गरिएको भनिएको उक्त मदरसा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको हो। उनीहरूले मदरसा सञ्चालनका नाममा चन्दा संकलन गरिँदै आएको र त्यसलाई व्यक्तिगत आम्दानीको स्रोत बनाइएको आरोप समेत लगाएका छन्। केही स्थानीय अगुवाहरूले यस प्रकारको गतिविधिले मुस्लिम समुदायको परम्परा, नियम तथा सामाजिक मर्यादामाथि नै प्रश्न उठाएको बताएका छन्।

स्थानीय मुस्लिम समुदायका एक अगुवाले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “यदि नियमअनुसार बनात सञ्चालन गर्ने हो भने त्यो मुस्लिम महिला तथा बालिकाहरूको शिक्षाका लागि मात्र हुनुपर्छ। त्यहाँ महिला शिक्षिका, छात्राका लागि सुरक्षित वातावरण तथा आवश्यक सुरक्षा व्यवस्था समेत अनिवार्य हुन्छ। तर यहाँ आफ्नै घरभित्र एउटा ब्यानर टाँसेर लुकीछिपी रूपमा सञ्चालन गरिएको देखिएको छ, जुन शंकास्पद छ।

उनका अनुसार धार्मिक तथा शैक्षिक संस्थाको नाममा कुनै पनि गतिविधि सञ्चालन गर्दा समुदायको सहमति, सम्बन्धित निकायको अनुमति तथा पारदर्शिता अत्यावश्यक हुन्छ। समुदायलाई जानकारी नै नदिई मदरसा सञ्चालन गर्नु र त्यसको नाममा आर्थिक संकलन गर्नु गलत अभ्यास हो,” उनले भने, “यदि समयमै यसलाई व्यवस्थित गरिएन भने भविष्यमा मुस्लिम समुदायमाथि नै गम्भीर प्रश्न उठ्न सक्छ।

स्थानीयहरूले मदरसाको वैधानिकता, आर्थिक स्रोत, चन्दा संकलनको विवरण तथा सञ्चालन प्रक्रियाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले गाउँपालिका, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सुरक्षा निकायसँग निष्पक्ष छानबिनको माग गरेका हुन्। स्थानीय बासिन्दाका अनुसार पछिल्लो समय गाउँमा यस विषयलाई लिएर विभिन्न समूहबीच असन्तुष्टि बढ्दै गएको छ।

समुदायको नाममा चन्दा उठाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रयास भइरहेको छ,” अर्का एक स्थानीयले भने, “यसले गाउँको सामाजिक सद्भावमा असर पार्न थालेको छ। धार्मिक शिक्षाको नाममा कुनै पनि गतिविधि पारदर्शी र कानुनी दायराभित्र हुनुपर्छ।

यता, मोलाना मो. बसरुद्दीनसंग फोन सम्बादमा उनले भने आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गरेको बताइएको छ। उनका अनुसार धार्मिक शिक्षा विस्तार तथा बालबालिकालाई इस्लामिक शिक्षा दिने उद्देश्यले मदरसा सञ्चालन गरिएको बताएका छन्। केही व्यक्तिले व्यक्तिगत पूर्वाग्रहका कारण अनावश्यक विवाद सिर्जना गर्न खोजेको उनको भनाइ छ।

बसरुद्दीनका अनुसार उक्त स्थानमा कुनै गैरकानुनी गतिविधि नभई सामान्य धार्मिक अध्ययन गराइँदै आएको छ। धार्मिक शिक्षा दिनु अपराध होइन,” उनले भने, “समुदायभित्रको आन्तरिक असमझदारीलाई अतिरञ्जित गरेर प्रस्तुत गरिएको छ।

घटनापछि गाउँमा मुस्लिम समुदायबीच छलफल तथा समन्वयको प्रयास भए पनि विवाद अझै समाधान हुन सकेको छैन। स्थानीय अगुवाहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। स्थानीय अनुसार दुवै पक्षसँग छलफल गरी आवश्यक परे कानुनी प्रक्रियामा जाने तयारी समेत भइरहेको छ।

सेहरामा देखिएको यो विवादले धार्मिक संस्था सञ्चालनमा पारदर्शिता, समुदायको सहभागिता तथा कानुनी प्रक्रियाको आवश्यकता पुनः चर्चामा ल्याएको छ। स्थानीय बासिन्दाले विवाद समाधानका लागि निष्पक्ष छानबिन, समुदायबीच संवाद तथा आवश्यक नियमन अपरिहार्य रहेको बताएका छन्।