पत्रकार नरेन्द्र महतोमाथि दुर्व्यवहारप्रति पत्रकार महासंघ महोत्तरीको गम्भीर ध्यानाकर्षण।

महोत्तरी टुडे     

महोत्तरी, असार १८ — नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले पत्रकार नरेन्द्र महतोमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। गौशाला बजार अतिक्रमणसम्बन्धी विरोध प्रदर्शनको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको व्यवहारलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेको हो।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार समाचार संकलनका क्रममा पत्रकार महतोमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गर्नुका साथै मोबाइलसहितका सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिएका थिए। उक्त घटनालाई महासंघले अत्यन्त निन्दनीय र लोकतान्त्रिक मूल्यविपरीतको कार्य भएको जनाएको छ।

विज्ञप्तिमा समाचार संकलन तथा प्रसारणका क्रममा पत्रकारमाथि दबाब सिर्जना गर्ने, समाचार तथा दृश्य सामग्री संकलनमा अवरोध पुर्‍याउने वा सञ्चारकर्मीमाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि प्रेस स्वतन्त्रता र विधिको शासनमाथिको गम्भीर प्रहार हुने उल्लेख गरिएको छ।

गौशाला बजार अतिक्रमणसम्बन्धी विषय निरन्तर रूपमा प्रकाशन तथा प्रसारण हुँदै आएको अवस्थामा पत्रकारमाथि गरिएको यस्तो व्यवहार अस्वीकार्य रहेको महासंघको भनाइ छ। महासंघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन तथा पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ।

FB_IMG_1780295270144.jpg

साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक र कडा कदम चाल्न पनि महासंघले आग्रह गरेको छ।