पत्रकार नरेन्द्र महतोमाथि दुर्व्यवहारप्रति प्रेस मञ्च नेपालको गम्भीर ध्यानाकर्षण।

महोत्तरी टुडे     

महोत्तरी,जेठ १७ — प्रेस मञ्च नेपाल केन्द्रीय समितिले समाचार संकलनका क्रममा महोत्तरीको गौशालामा पत्रकार नरेन्द्र महतोमाथि भएको दुर्व्यवहार तथा सञ्चार सामग्री खोसिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस मञ्च नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनको समाचार संकलनका लागि खटिएका पत्रकार महतोको मोबाइलसहितका सञ्चार सामग्री केही व्यक्तिको समूहले नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको जानकारी प्राप्त भएको उल्लेख गरेको छ। संस्थाले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै कडा शब्दमा भर्त्सना गरेको छ।

विज्ञप्तिमा प्रकाशित तथा प्रसारित समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो अपनाउन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारमाथि दुर्व्यवहार हुनु अस्वीकार्य रहेको उल्लेख गरिएको छ। साथै, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिएको छ।

प्रेस मञ्च नेपालले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, पत्रकारहरूले निर्भीक र सुरक्षित वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

Messenger_creation_C04F8B54-D342-462C-B21E-C7DF9C50A3F4.jpeg