मधेश प्रदेशका पदक विजेता खेलाडी सम्मानित, टेक्सास इन्टरनेशनल कलेजद्वारा ५०% छात्रवृत्तिको घोषणा

महोत्तरी टुडे     

महोत्तरी, असार २३ ।

१६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२/०८३ अन्तर्गत मधेश प्रदेशबाट सहभागी भई पदक जित्न सफल खेलाडीहरूलाई सम्मान गरिएको छ। मित्रपार्क, काठमाडौंस्थित टेक्सास इन्टरनेशनल कलेजमा आयोजित सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

मधेश खेलकुद परिषद् तथा महोत्तरी जिल्ला खेलकुद विकास समिति जलेश्वरका अध्यक्ष सत्येन्द्र यादव र मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहको सहकार्यमा आयोजित कार्यक्रममा रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला, जनकपुरधामका प्रथम शिलान्यासकर्ता, पूर्व खेलाडी तथा प्रशिक्षक कमल किशोर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।WhatsApp Image 2026-06-06 at 9.36.20 AM.jpeg

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भई राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरेका पदक विजेता खेलाडीहरूलाई सम्मान तथा शुभकामना प्रदान गरिएको थियो। खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य तथा शैक्षिक अवसरबारे समेत छलफल गरिएको थियो।

WhatsApp Image 2026-06-06 at 9.36.20 AM (1).jpeg

यस अवसरमा टेक्सास इन्टरनेशनल कलेजले मधेश प्रदेशका खेलाडीहरूका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ। कलेजको उक्त निर्णयले खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई उच्च शिक्षामा थप अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा वक्ताहरूले खेलकुद क्षेत्रको विकासका लागि राज्य, शैक्षिक संस्था तथा समाजका विभिन्न क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेका थिए।

कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै आगामी प्रतियोगिताहरूमा समेत सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो।