महोत्तरीमा हराएका ३ वर्षीय बालक मृत अवस्थामा फेला, हत्या भएको आशंका

महोत्तरी टुडे     

सम्सी महोत्तरी- महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँस्थित अस्पताल नजिकबाट हराएका ३ वर्षीय बालक मानिकेश कुमार यादव मृत अवस्थामा फेला परेका छन्। उनी गत जेठ २२ गते साँझ घर नजिक खेल्ने क्रममा अचानक हराएका थिए।

बालक हराएपछि परिवार, स्थानीयवासी तथा प्रहरीले लगातार खोजी कार्य सञ्चालन गरेका थिए। तर जेठ २४ गते साँझ करिब ५:२५ बजे सम्सी गाउँपालिका–५ ब्रम्हस्थानस्थित राजकिशोर शाह तेलीको पोखरी नजिक पानीमा तैरिरहेको बोराभित्र बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच गर्दा शव हराइरहेका बालक मानिकेशकै रहेको पुष्टि गरेको थियो। घटनापछि शवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

बालकको मृत्यु शंकास्पद देखिएकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले सम्पूर्ण क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ। दोषीको पहिचान गरी कडा कानुनी कारबाही गर्न स्थानीयवासी तथा परिवारजनले माग गरेका छन्।