एनआरएनए एनसीसी कतारद्वारा नेपाली समुदायका लागि निःशुल्क मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना हुँदै
आशिक हुसैन शेख दोहा, कतार। कतारमा रहेका नेपाली समुदायको मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (NRNA NCC Qatar) ले Naseem Surgical & Medical Centre को सहकार्यमा निःशुल्क मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।
"स्वस्थ मन, सुखी जीवन" भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रम शुक्रबार, ७ अगस्ट २०२६ बिहान ९:०० बजेदेखि १०:३० बजेसम्म NCLD, पहिलो तल्लामा, Naseem Surgical & Medical Center, C Ring Road, Doha मा आयोजना हुने जनाइएको छ।
आजको व्यस्त जीवनशैलीमा बढ्दो तनाव, चिन्ता तथा मानसिक दबाबलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यबारे सही जानकारी, खुला संवाद र समयमै आवश्यक सहयोगको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा विशेषज्ञद्वारा प्रस्तुति, परामर्श तथा अन्तरक्रियात्मक छलफल गरिनेछ।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा भावनात्मक सन्तुलन, तनाव व्यवस्थापनका व्यवहारिक उपाय, तनाव र चिन्ताका प्रारम्भिक संकेतहरूको पहिचान, आत्मविश्वास, सहनशीलता तथा भावनात्मक बुद्धिमत्ताको विकास, परिवार, साथी तथा सहकर्मीलाई मानसिक रूपमा सहयोग गर्ने तरिका, साथै मानसिक स्वास्थ्यसँग सम्बन्धित भ्रम र सामाजिक कलंक अन्त्यका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिनेछ।
सहभागिता पूर्ण रूपमा निःशुल्क भए पनि सिट संख्या सीमित रहेकाले इच्छुक सहभागीलाई पोस्टरमा रहेको QR Code स्क्यान गरी समयमै आफ्नो नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ।

थप जानकारीका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार NRNA NCC Qatar Helpline नम्बर (+974 7000 1353) तथा महासचिव शिव भुजेल (+974 6646 2303) मा सम्पर्क गर्न सकिने जनाइएको छ।
मानसिक स्वास्थ्यबारे खुला संवाद, सही जानकारी र सामुदायिक सचेतना अभिवृद्धि गर्दै स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने विश्वासका साथ कार्यक्रममा सहभागी हुन कतारवासी सम्पूर्ण नेपाली समुदायलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।
