कतार श्रम मन्त्रालयको कडा कदम: रोजगार सम्झौता उल्लंघन गर्ने म्यानपावरको लाइसेन्स निलम्बन वा खारेज हुने चेतावनी
दोहा, कतार ।
कतारको श्रम मन्त्रालय (Ministry of Labour) ले रोजगार सम्झौताका दायित्व पूरा नगर्ने तथा लाइसेन्ससम्बन्धी नियम उल्लंघन गर्ने भर्ती कार्यालय (Recruitment Offices) विरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।
मन्त्रालयका अनुसार, कामदार भर्ती प्रक्रियामा तोकिएका नियम पालना नगर्ने, रोजगार सम्झौतामा उल्लेख गरिएका शर्तहरू पूरा नगर्ने वा लाइसेन्ससम्बन्धी प्रावधान उल्लंघन गर्ने कार्यालयहरूलाई कारबाहीको दायरामा ल्याइनेछ। यस्ता कार्यालयहरूको लाइसेन्स निलम्बन गर्नेदेखि पूर्ण रूपमा खारेज गर्नेसम्मको कदम चाल्न सकिने मन्त्रालयले जनाएको छ।
कतारको श्रम बजारलाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन तथा कामदार र रोजगारदाताको अधिकार संरक्षण गर्न भर्ती कार्यालयहरूको अनुगमन र निरीक्षणलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै भर्ती कार्यालयहरूलाई कतारको श्रम कानुन, रोजगार सम्झौता र लाइसेन्ससम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। नियम उल्लंघन गर्ने संस्थामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
स्रोत: द पेनिन्सुला कतार
