सार्वजनिक स्थानमा राखिएका झण्डा हटाउन सुनसरी प्रशासनको सार्वजनिक अपिल
महोत्तरी टुडे सुनसरी। जिल्ला प्रशासन कार्यालय, सुनसरीले सार्वजनिक स्थान, सडक तथा चोक–चौराहाहरूमा विभिन्न समूह, समुदाय वा संगठनका नाममा राखिएका झण्डा–ध्वजापताकाहरू हटाउन सार्वजनिक अपिल जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद यादवद्वारा जारी अपिलमा सार्वजनिक स्थलमा राखिएका एकल जातीय, धार्मिक, सांप्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा–ध्वजापताकाहरूले सामाजिक सद्भाव, सार्वजनिक सुव्यवस्था तथा शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई आगामी तीन दिनभित्र त्यस्ता झण्डा हटाउन आग्रह गरिएको छ।
प्रशासनले सार्वजनिक स्थान कुनै एक समुदाय, जाति, धर्म वा समूहको पहिचान प्रदर्शन गर्ने स्थल नभई सम्पूर्ण नागरिकको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यस्ता स्थानमा अनुमति बिना झण्डा, ब्यानर वा अन्य पहिचानजन्य सामग्री राख्ने कार्य उपयुक्त नभएको जनाएको छ।
जारी अपिलमा तीन दिनभित्र सम्बन्धित पक्षले आफैं त्यस्ता झण्डा हटाई भविष्यमा पुनः सार्वजनिक स्थानमा नराख्न अनुरोध गरिएको छ। साथै स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सर्वसाधारणलाई पनि यस अभियानमा समन्वय र सहयोग गर्न आग्रह गरिएको छ।
प्रशासनले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, जातीय एकता तथा कानुनी शासन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कुनै पनि गतिविधिबाट समाजमा विभाजन, तनाव वा असहिष्णुता फैलिन नदिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेको छ।
सार्वजनिक अपिललाई जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने, सार्वजनिक स्थलको दुरुपयोग रोक्ने तथा सबै समुदायबीच आपसी विश्वास र सहकार्य कायम राख्ने उद्देश्यका साथ जारी गरिएको प्रशासनले जनाएको छ। साथै अपिलको पालना गरी सार्वजनिक स्थानलाई साझा र व्यवस्थित बनाउन सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास प्रशासनले व्यक्त गरेको छ।

