पालिका चुनावका उम्मेदवार छनोटका लागि रास्वपाले नयाँ मापदण्ड सार्वजनिक

महोत्तरी टुडे     

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह (पालिका) निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने नयाँ रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले पारदर्शिता, योग्यता, जनसमर्थन र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिँदै नयाँ प्रणाली लागू गरेको जनाएको छ।

 

नयाँ व्यवस्थाअनुसार पार्टीका तर्फबाट मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिले सबैभन्दा पहिले सम्बन्धित पालिका वा वडा स्तरको ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ।

 

आवेदनपछि उम्मेदवारले चार चरणको मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्नेछ। पहिलो चरणमा २५ प्रतिशत भाराङ्क रहेको ‘लिडरशिप एकेडेमी’ को परीक्षण अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्नेछ। त्यसपछि २५ प्रतिशत भाराङ्क को ‘पोलिटिकल प्रोक्सिमिटी’ अन्तर्गत जनसम्बन्ध, लोकप्रियता तथा सामाजिक स्वीकार्यता मूल्याङ्कन गरिनेछ। १० प्रतिशत भाराङ्क समावेशीता र विभिन्न समुदायलाई सम्बोधन गर्ने क्षमताको आधारमा प्रदान गरिने व्यवस्था गरिएको छ।

 

सबैभन्दा बढी ४० प्रतिशत भाराङ्क भने पार्टीको आन्तरिक चुनाव लाई दिइएको छ। यस आन्तरिक मतदानमा क्रियाशील सदस्य, सम्बन्धित साङ्गठनिक कमिटीका प्रतिनिधि तथा विशिष्ट नेताहरूले मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

 

पार्टीले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक चलखेल, धाँधली, गुटबन्दी र अनुचित प्रभाव रोक्न कडा आचारसंहिता लागू गरिएको जनाएको छ। यद्यपि विशेष वा असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट सिधै उम्मेदवार चयन गर्न सकिने व्यवस्था पनि रूपरेखामा समावेश गरिएको छ।

 

रास्वपाको भनाइअनुसार यो प्रणालीले योग्य, सक्षम, जनउत्तरदायी र लोकतान्त्रिक प्रक्रियाबाट छनोट भएका उम्मेदवारलाई स्थानीय तहको निर्वाचनमा अघि ल्याउने लक्ष्य राखेको छ।