सोनमा बर्थिङ्ग सेन्टरमा गज्जबको संयोग: सेवा लिने तीनै जना महिलाले जन्माए छोरा
महोत्तरी टुडे
श्रावण २२ २०८३
D K यादव, सोनमा, महोत्तरीटुडे — महोत्तरीको सोनमा गाउँपालिकामा हालै सञ्चालनमा आएको सोनमा बर्थिङ्ग सेन्टरमा एक गज्जबको संयोग देखिएको छ। गत असार ३२ गतेदेखि मात्र सञ्चालनमा आएको यस सेन्टरमा हालसम्म सुरक्षित सुत्केरी सेवा लिएका सबै महिलाले छोरा जन्माएका छन्।
बर्थिङ्ग सेन्टर स्थापना भएयता अहिलेसम्म जम्मा ३ जना गर्भवती महिलाले प्रसूति सेवा लिएकोमा तिनै जनाले छोरा जन्माएपछि यसलाई स्वास्थ्यकर्मी र स्थानीयले एक सुखद र रोचक संयोगका रूपमा लिएका छन्।
सेन्टरका अनुसार प्रसूति सेवा लिनेहरूमा सोनमा गाउँपालिका वडा नं. १, वडा नं. ५ र वडा नं. ७ का एक-एक जना महिला रहेका छन्। फरक-फरक वडाबाट आएका तीनै जना आमाले छोरा जन्माएपछि अहिले यो विषय पालिकाभरि निकै चर्चा र कौतुहलताको विषय बनेको छ।
सोनमा गाउँपालिकाका स्वास्थ्य प्रमुख जितेन्द्र कुमार साहले यसलाई एउटा सुन्दर संयोग भन्दै नवजात शिशु र आमाहरू सबै सुरक्षित रहेको जानकारी दिनुभयो। स्वास्थ्य प्रमुख साहले भन्नुभयो, "भर्खरै सुरु भएको सेन्टरमा सुरुवाती तीनवटै डेलिभरी सफल हुनु र संयोगवश तीनै जनाले छोरा जन्माउनु हाम्रा लागि निकै खुसी र उत्साहको कुरा हो। मुख्य कुरा, सबै आमा र बच्चाको स्वास्थ्य पूर्ण रूपमा सामान्य र सुरक्षित छ।"
संस्थागत प्रसूति सेवालाई प्रोत्साहन गर्न गाउँपालिकाले सेन्टरमा सुत्केरी हुने महिलाहरूलाई विशेष उपहार र भत्तासहित बिदाइ गर्ने गरेको छ। सेवा लिने आमाहरूलाई पोषणका लागि होरलिक्स, आमा र बच्चाका लागि कपडा तथा यातायात खर्चबापत नगद १ हजार रुपैयाँ प्रदान गरिएको छ।
यसै क्रममा, सेवा लिने पहिलो महिलालाई गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव, दोस्रो महिलालाई उपाध्यक्ष जहिदा खातुन र तेस्रो महिलालाई वडा नं. ७ का वडा अध्यक्ष इन्द्र जित यादवले सो उपहार तथा भत्ता हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको स्वास्थ्य शाखाले जनाएको छ।
ग्रामीण क्षेत्रमा घरमै असुरक्षित रूपमा सुत्केरी हुने प्रथालाई अन्त्य गर्न र आमा तथा शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न यो केन्द्र स्थापना गरिएको हो। गाउँपालिकामै २४सै घण्टा यस्तो सेवा, प्रोत्साहन र जनप्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति पाइन थालेपछि स्थानीयबासीमा संस्थागत प्रसूति सेवाप्रति भरोसा निकै बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
