सोनमा महोत्तरीको विजयी प्रदर्शन, जिङ्गडवा सर्लाहीलाई पराजित गर्दै उपाधि कब्जा
धर्मेन्द्र कुमार यादव, महोत्तरी टुडे ।
हरिपुर्वा–५ स्थित श्री के.ग.मा.वि.को खेलमैदानमा सम्पन्न नक आउट जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सोनमा (महोत्तरी) विजेता बनेको छ।
फाइनलमा जिङ्गडवा (सर्लाही) ले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तर बलियो सुरुवात गर्न नसक्दा टोली १३ ओभरमै ५१ रनमा अलआउट भयो। जिङ्गडवाका तर्फबाट मनोजले १० रनको योगदान गरे भने अन्य खेलाडी दोहोरो अंकमा प्रवेश गर्न असफल भए। सोनमाको बलिङ तर्फ अरुन, अस्फाक र मारुफ ले साम्न ३/३ विकेट र नितेशले १ बिकेट लिएका थिए।
५२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सोनमा टिमले ५ ओभरमै ५३ रन पूरा गर्दै सहज जीत हासिल गर्यो।
सोनमाका अस्फाकले २४ रन र धिरुले २१ रन बनाएर टिमलाई उपाधिसम्म पुर्याए। जिङरवाको बलिङ तर्फ अरविन्दले २ र मनोजले १ बिकेट लिएका थिए।
विजेता सोनमा टिमले ६१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता जिङ्गडवा टिमले ४१ हजार रुपैयाँ प्राप्त गर्यो।
कार्यक्रममा पर्षा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय प्रमुख अतिथि, सोनमा गाउँपालिका शिक्षा सह संयोजक धर्मेन्द्र कुमार यादव अतिथिको रूपमा उपस्थित रहेका थिए। प्रतियोगिता खेलप्रेमीहरूको विशेष सहयोग र स्थानीय प्रायोजनमा सम्पन्न गरिएको हो।
सोनमा गाउँपालिकाको टिम जित हासिल गरेकोमा सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले शुभकामना व्यक्त गर्नुभएको छ।
