मधेश युवा संघ, कतारद्वारा विपन्न परिवारलाई रु. २४ हजारभन्दा बढी आर्थिक सहयोग
महोत्तरी टुडे डटकम धनुषा- धनुषा जिल्लाको औरही गाउँपालिका–२, देउरी गाउँ निवासी स्वर्गीय खगेश पासमानको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। मानसिक अवस्था कमजोर रहेकी श्रीमती तथा बालबालिकाको पालनपोषण र शिक्षाका लागि मधेश युवा संघ, कतारको पहलमा रु. २४ हजार २०० आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
स्थानीय समाजसेवी युवा पंकज मण्डलको पहलमा मधेश युवा संघ, कतारमा आबद्ध समाजसेवी युवाहरूबाट संकलित उक्त रकम पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरिएको छ। छेदी पासमानका अनुसार सामाजिक अभियन्ता शम्भु चौधरी, सुरेन्द्र महतो, अग्रज बुद्धिजीवी रामचन्द्र सिंहलगायत स्थानीय व्यक्तिहरूको उपस्थितिमा स्वर्गीय खगेश पासमानका बुबा, आमा तथा छोरीको हातमा सहयोग रकम प्रदान गरिएको थियो।
स्वर्गीय पासमानकी श्रीमतीको मानसिक अवस्था समेत कमजोर रहेको र परिवार कठिन परिस्थितिमा रहेको अवस्थामा सहयोग प्राप्त भएपछि परिवारले राहत महसुस गरेको जनाएको छ। परिवारका सदस्यहरूले सहयोगी दाताहरू तथा मधेश युवा संघ, कतारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
संस्थाको परिचय र उद्देश्य
मधेश युवा संघ, कतार वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली युवाहरूको सामाजिक संस्था हो। संस्थाले समाजसेवा, मानवता तथा सहयोगको भावनालाई प्रवर्द्धन गर्दै विपन्न, बिरामी, असहाय तथा समस्यामा परेका परिवारलाई आर्थिक, नैतिक र सामाजिक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।
संस्थाका कोषाध्यक्ष राम सजन साहका अनुसार संस्थाले विगतदेखि नै आपतकालीन स्वास्थ्य सहायता, विपद् व्यवस्थापन, शैक्षिक सामग्री वितरण तथा विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाका सल्लाहकार गणेश साहले समाजमा सकारात्मक परिवर्तन ल्याउन संस्थाले निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिरहेको बताए।
संस्थाका अध्यक्ष श्रीप्रताप साहले भने, “हामी जहाँ रहे पनि आफ्नो समाज र जन्मभूमिप्रति जिम्मेवार छौं। आगामी दिनमा पनि यस्ता मानवसेवामूलक कार्यलाई निरन्तरता दिनेछौं।”
मधेश युवा संघ, कतारले सामाजिक एकता, मानवीय सहयोग तथा सकारात्मक परिवर्तनको लक्ष्यसहित विभिन्न सामाजिक अभियानलाई निरन्तर अगाडि बढाउँदै आएको जनाएको छ।
