काभ्रेपलाञ्चोक सेवा समाज कतारको भेटघाट तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
आशिक हुसैन शेख दोहा, कतार १३ जुन,
“प्रवासी काभ्रेली एक हौँ, कतारमा काभ्रेली कहीँ कतै नछुटौँ” भन्ने मूल नाराका साथ स्थापित काभ्रेपलाञ्चोक सेवा समाज कतारद्वारा आयोजित सांस्कृतिक तथा भेटघाट कार्यक्रम–२०२६ शुक्रबार दोहास्थित प्लाजा मलको जिम्बु थकाली रेष्टुरेन्टको सभाहलमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
समाजका कार्यवाहक अध्यक्ष रामहरि चौलागाईंको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी सागर नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष कविन्द्र कँडेलसहित विभिन्न प्रदेश समन्वय परिषद्, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा काभ्रेली एवं गैरकाभ्रेली नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
दिउँसो करिब २ बजे नेपाली राष्ट्रिय गान, ब्यानर अनावरण तथा दीप प्रज्ज्वलनसँगै औपचारिक रूपमा सुरु भएको कार्यक्रममा समाजका सचिव शमशेर तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गायक तथा सङ्गीतकार वीरेन्द्र श्रेष्ठले देशभक्ति गीत प्रस्तुत गरी सांगीतिक स्वागत गरेका थिए। कार्यक्रमको सहजीकरण समाजका महासचिव महेन्द्र थापाले गरेका थिए।
उद्घाटन सत्रमा वक्ताहरूले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य, सामाजिक सद्भाव तथा सांस्कृतिक पहिचानको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले काभ्रेपलाञ्चोक सेवा समाज कतारले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउन पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
प्रमुख अतिथि कृष्ण पन्थीले काभ्रेपलाञ्चोक सेवा समाज कतारले नेपालमा एम्बुलेन्स सेवा सञ्चालनदेखि विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले प्रवासी नेपालीहरूलाई अनुशासित, जिम्मेवार र सकारात्मक बन्न आग्रह गर्दै सामाजिक सञ्जालको सही प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले विशेषगरी टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट नगर्न, सार्वजनिक स्थानमा अनावश्यक भिडभाड गरेर फोटो तथा भिडियो बनाई सामाजिक सञ्जालमा प्रसारण नगर्न अनुरोध गर्नुभयो। यस्ता गतिविधि कतार सरकारको नियम तथा कानुन विपरीत हुन सक्ने भएकाले सबै नेपाली सचेत हुनुपर्ने उहाँको भनाइ थियो।
पन्थीले एनआरएनए कतारले रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक अभियान तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। साथै रोजगारी नपाएर समस्यामा परेका नेपालीहरूलाई सहयोग, नेपाली राजदूतावास तथा सम्बन्धित कम्पनीहरूसँग समन्वय गरी तलब तथा श्रमिक अधिकारका विषयमा पहल गरिएको बताउनुभयो।
उहाँले नेपालबाट कतिपय युवाहरू २ लाख ५० हजार रुपैयाँ वा सोभन्दा बढी रकम खर्च गरेर कतार आउने तर यहाँ आएपछि अपेक्षित रोजगारी नपाउँदा समस्यामा पर्ने गरेको उल्लेख गर्नुभयो। विशेषगरी फ्रीलान्सर भिसाको नाममा हुने ठगीप्रति सचेत गराउँदै कतारमा त्यस्तो भिसा प्रणाली नरहेको स्पष्ट पार्नुभयो। विदेश आउनुअघि आवश्यक जानकारी, सीप र दक्षता हासिल गर्न तथा कानुनी प्रक्रियामार्फत मात्र आउन उहाँले आग्रह गर्नुभयो।
विशिष्ट अतिथि समाजसेवी सागर नेपालले विदेश आउन चाहने युवाहरूलाई सीप सिकेर मात्र वैदेशिक रोजगारीमा आउन आग्रह गर्नुभयो। सीपयुक्त व्यक्तिले जहाँ गए पनि सम्मान र अवसर प्राप्त गर्ने बताउँदै उहाँले युवाहरूलाई दक्षता विकासमा ध्यान दिन सुझाव दिनुभयो।
उहाँले कतारमा रहेका सम्पूर्ण नेपालीलाई कतार सरकारको कानुन तथा नियमहरूको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। सार्वजनिक स्थलमा अनुशासित व्यवहार गर्न र नेपाली समुदायको प्रतिष्ठा जोगाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपाली चेलीबेटीहरूलाई विशेष सन्देश दिँदै उहाँले प्रत्येक दिन बिहान भगवानको नाम तथा आफ्ना बुवा–आमाको आशीर्वाद सम्झेर काममा जान आग्रह गर्नुभयो। “तपाईंहरूले राम्रो काम गर्नुभयो भने सम्पूर्ण नेपालीको नाम राम्रो हुन्छ,” भन्दै उहाँले नेपाली समुदायको सम्मान जोगाउन सकारात्मक सोच, इमान्दारिता र अनुशासनलाई जीवनको आधार बनाउन आग्रह गर्नुभयो।
कार्यक्रमको प्रमुख आकर्षण सांस्कृतिक प्रस्तुति रहेको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखामा आबद्ध कलाकारहरू नारायण देवकोटा, पुकार थापा, रेश्मी सेन्चुरी, गंगा बीसी, जमुना बीसी, सकुर जास्मी, मनिष कुमार गोस्वामी, सुमित्रा भट्टराई लगायतका कलाकारहरूले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए। साथै नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने विविध सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएका थिए।
कलाकारहरूको उत्कृष्ट प्रस्तुति र दर्शकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सुरुदेखि अन्त्यसम्म सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गरेको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाले कार्यक्रमलाई सफल बनाउन पुर्याएको योगदानप्रति आयोजकले विशेष सम्मान व्यक्त गरेको छ।
कार्यक्रममा नेपाली महिला समाज कतारकी उपाध्यक्ष सुष्मा खतिवडा कटुवाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका अध्यक्ष कृष्णप्रसाद ढकाल, बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष कविन्द्र कँडेल, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष टेकराज थापा, कर्णाली प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष मोतीलाल बुढा मगर, सुदूरपश्चिमेली नेपाली समाज कतारका अध्यक्ष गोरखचन्द ठकुरी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमलाई समाचार, फोटो तथा भिडियोमार्फत व्यापक रूपमा प्रचारप्रसार गर्न योगदान पुर्याउने पत्रकार तथा सञ्चारकर्मीहरूप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। उत्कृष्ट तस्बिरमार्फत कार्यक्रमलाई थप उजागर गर्न योगदान पुर्याउने फोटोग्राफर प्रकाश दर्नाल (शीतल) सहित सम्पूर्ण सञ्चारकर्मीहरूलाई सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति रामहरि चौलागाईंले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, कलाकार, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। सो अवसरमा प्रमुख अतिथि कृष्ण पन्थीलाई मायाको चिनो प्रदान गरिएको थियो भने कलाकार तथा पत्रकारहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
छोटो समयमै कार्यक्रमको तयारी गरिएकाले सबै शुभेच्छुकहरूलाई निमन्त्रणा गर्न नसकिएको उल्लेख गर्दै आयोजकले त्यसबाट कसैको भावना आहत भएको भए क्षमायाचना समेत गरेको छ। काभ्रेपलाञ्चोक सेवा समाज कतारले आगामी दिनमा पनि प्रवासी नेपाली समुदायको हित, एकता, सामाजिक सद्भाव तथा नेपाली कला–संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
