मलमासको आज अन्तिम दिन महोत्तरी–सर्लाही सिमाना स्थित गेउरका धाममा श्रद्धालुको अपार भिड

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार यादव-सोनमा,
महोत्तरी र सर्लाही जिल्लाको सिमानामा सोनमा गाउँपालिका वडा नं. ५ खैरबनी स्थित पौराणिक तथा धार्मिक आस्थाको केन्द्र गेउरका धाममा मलमासको अन्तिम दिन आज श्रद्धालुहरूको अपार भिड लागेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका लाखौँ भक्तजनहरूको उपस्थितिले गेउरका क्षेत्र भक्तिमय बनेको छ।

WhatsApp Image 2026-06-14 at 8.36.39 AM (1).jpeg

पौराणिक मान्यता अनुसार गेउरकास्थित पवित्र जलमा स्नान गरी भगवानको पूजा–आराधना गर्नाले सम्पूर्ण पापबाट मुक्ति मिल्ने, मनोकामना पूरा हुने तथा सुख–शान्ति प्राप्त हुने विश्वास रहिआएको छ। यही धार्मिक आस्थाका कारण मलमासको अन्तिम दिन विशेष रूपमा श्रद्धालुहरूको ठूलो भीड लागेको हो।

गेउरका धामको पौराणिक इतिहास,
स्थानीय जनश्रुति अनुसार प्राचीन कालमा मंगलनाथ महादेव र माता पार्वतीबीच विवाद भएपछि माता पार्वती रिसाएर मन्दिर छाडेर दक्षिणतर्फको चौरी क्षेत्रमा पुग्नुभएको थियो। त्यही स्थानमा उहाँले रात बिताउनु भएको र विरह तथा पीडामा बगेका आँसुबाट पवित्र जलधारा उत्पन्न भएको विश्वास गरिन्छ। समयसँगै उक्त स्थान धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित हुँदै गेउरका धामको रूपमा स्थापित भएको स्थानीय बुढापाकाहरू बताउँछन्।


अर्को मान्यताअनुसार मलमास अर्थात् पुरुषोत्तम महिनामा यस धाममा स्नान, पूजा र दान गर्नाले जन्म–जन्मान्तरका पाप नाश हुने, पितृहरूको उद्धार हुने तथा मोक्ष प्राप्त हुने विश्वास रहिआएको छ। यही कारणले हरेक मलमासमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार लगायतका क्षेत्रबाट हजारौँ श्रद्धालु यहाँ आउने गरेका छन्।

WhatsApp Image 2026-06-14 at 8.36.39 AM (2).jpeg

बिहानैदेखि भक्तजनहरू पवित्र स्नान गरी पूजा, भजन–कीर्तन, दीप प्रज्वलन तथा दान–दक्षिणामा सहभागी भएका छन्। श्रद्धालुहरूको अत्यधिक चापलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय स्वयंसेवकहरू परिचालन गरी सुरक्षा तथा भीड व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ।
स्थानीयवासीका अनुसार गेउरका धाममा लाग्ने मेला केवल धार्मिक आस्थाको विषय मात्र नभई स्थानीय संस्कृति, आपसी सद्भाव र आर्थिक गतिविधिसँग समेत जोडिएको छ। मेलाका अवसरमा विभिन्न व्यापारिक स्टल, घरेलु सामग्री, मिठाइ तथा बालबालिकाका मनोरञ्जनका सामग्रीको समेत कारोबार हुने गरेको छ।

InShot_20260531_151104404.jpg

धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्व बोकेको गेउरका धाम मेला मधेश प्रदेशकै महत्वपूर्ण धार्मिक मेलामध्ये एक मानिन्छ। मलमासको अन्तिम दिन लागेको यो मेलाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको विश्वास गरिएको छ।
– महोत्तरी टुडे