जनकपुरमा खुकुरी प्रहार: एक बालिकाको हत्या,आमा र अर्की बालिका गम्भीर घाइते

महोत्तरी टुडे     

जनकपुरधाम।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति भएको खुकुरी आक्रमणमा एक किशोरीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

 

सूर्यनन्द चौधरीको घरमा डेरागरी बस्दै आएका क्षिरेश्वरनाथ नगरपालिका–४ की आशा यादव, उनकी १५ वर्षीया छोरी अञ्जली यादव, र ढल्केवरकी १४ वर्षीया राधा यादवमाथि राति साढे ११ बजेतिर खुकुरी प्रहार भएको हो।

 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उमा चतुर्वेदीका अनुसार धनुषा–९ इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साहले पारिवारिक रिसिबीका कारण आक्रमण गरेका हुन्। खुकुरी प्रहारबाट अञ्जलीको घटनास्थलमै मृत्यु भएको छ भने आमाछोरी र राधा यादव गम्भीर घाइते छन्। दुबैलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना गरिएको छ।

 

प्रहरीले खुकुरी प्रहार गर्ने रामबाबु साह फरार रहे पनि पहिचान भइसकेको र उनको खोजी तीव्र पारिएको जनाएको छ। डीआईजी चतुर्वेदीका अनुसार रामबाबु साह यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

आशा यादवले छोरीको पढाइका लागि जनकपुरमा डेरा लिएकी थिइन्। घटनाले स्थानीयबासीलाई त्रसित बनाएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।