रसुवा–नुवाकोट बाढीपीडितका लागि महोत्तरी समाज सेवा कतारद्वारा २५ हजार रुपैयाँ सहयोग ।

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार- रसुवा तथा नुवाकोटमा बाढीपहिरोका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले महोत्तरी समाज सेवा कतारले रु. २५ हजार नेपाली रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण घरबास, खाद्यान्न तथा दैनिक आवश्यकताका सामग्रीमा क्षति पुगेका प्रभावित परिवारलाई राहत उपलब्ध गराउने अभियानअन्तर्गत समाजले उक्त रकम सहयोग गरेको हो। विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्का बेला पीडित नागरिकको साथमा उभिनुपर्छ भन्ने मानवीय भावनाका साथ सहयोग गरिएको समाजले जनाएको छ।

महोत्तरी समाज सेवा कतारले सामाजिक सेवा, मानवीय सहयोग तथा आपत्कालीन अवस्थामा आवश्यक सहयोग जुटाउने कार्यमा निरन्तर सक्रिय रहँदै आएको बताइएको छ। समाजले नेपालका विभिन्न क्षेत्रमा प्राकृतिक विपद् तथा अन्य कठिन परिस्थितिमा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

रसुवा र नुवाकोटमा आएको बाढीपहिरोले विभिन्न स्थानमा जनजीवन प्रभावित बनाउनुका साथै भौतिक संरचना, सडक, घर तथा अन्य सम्पत्तिमा क्षति पुर्‍याएको अवस्थामा राहत अभियानमार्फत सहयोग संकलन तथा वितरण गर्ने क्रम जारी रहेको छ।

समाजले विपद्को समयमा सहयोग रकम ठूलो-सानोभन्दा पनि मानवीय भावना, सामाजिक उत्तरदायित्व र एकताको भावना महत्वपूर्ण हुने बताएको छ। विदेशमा रहेका नेपालीहरूले आफ्नो आम्दानीको केही हिस्सा विपद् प्रभावित नागरिकका लागि छुट्याएर सहयोग गर्दा पीडित परिवारलाई तत्काल राहत पुग्नुका साथै समाजमा आपसी सहयोग र सद्भावको भावना पनि बलियो हुने समाजको विश्वास छ।

“हिमाल, पहाड, तराई-कोही छैन पराई, अनेकतामा एकता” भन्ने भावनालाई आत्मसात् गर्दै महोत्तरी समाज सेवा कतारले विपद्का बेला सबै नेपाली एकजुट भएर प्रभावित नागरिकको सहयोगमा लाग्नुपर्नेमा जोड दिएको छ।

IMG_20260922_081945.jpg

समाजले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ। उक्त सहयोगले रसुवा–नुवाकोटका बाढीपीडित परिवारको राहतमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।