चरित्रहत्या र सामाजिक शान्ति भंग गरेको आरोपमा मनोज कुमार महतो पक्राउ
सिरहा असोज ५ गते- सिरहा प्रहरीले लहान–२४ का मनोज कुमार महतोलाई साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्ने कसुरमा पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार महतोले जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्ति र समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आधारहीन तथा आपत्तिजनक सामग्री प्रसारण गरी चरित्रहत्या गर्ने र सामाजिक सद्भाव तथा शान्तिमा खलल पुर्याउने कार्य गरेको आरोप छ।
प्रहरीका अनुसार उनीविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्ति खललसम्बन्धी कसुरमा जाहेरी दर्ता भई अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा उदयपुरको चतरा पुलपारीस्थित एक होटलबाट भदौ ४ गते उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा अनुसन्धानपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय सिरहा
