धनकुटा सेवा समाज कतारको ९औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः तिलविक्रम मगर
आशिक हुसैन शेख दोहा, कतार ।
प्रवासमा रहेका नेपालीहरूबीच एकता, भाइचारा र सामाजिक सहकार्यलाई निरन्तरता दिँदै आएको धनकुटा सेवा समाज कतारको ९औँ अधिवेशन तथा तीज विशेष चेलीबेटी भेटघाट कार्यक्रम शुक्रबार कतारमा सम्पन्न भएको छ।

कतारको प्लाजा मलस्थित वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले तिलविक्रम मगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

‘धनकुटा सेवा समाज कतारको चाहना, शुद्ध सामाजिक भावना’ भन्ने मूल नाराका साथ सन् २००४ मा स्थापना भएको समाजले स्थापना कालदेखि नै प्रवासमा रहेका नेपाली समुदायका लागि विभिन्न सामाजिक तथा मानवीय गतिविधि गर्दै आएको छ।

समाजका अध्यक्ष तिलविक्रम मगरको अध्यक्षता तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। महासचिव योगेन्द्र बरालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रबिन मगरले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए।

अधिवेशनमा कतारमा क्रियाशील विभिन्न वैचारिक, क्षेत्रीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्पूर्ण जिल्ला संस्थाहरूको तर्फबाट बोल्दै गुल्मी सेवा समाज कतारका अध्यक्ष **मित्र बि.एस.**ले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रवासी नेपाली समुदायबीचको सहकार्य र एकतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।

सोही अवसरमा धनकुटा सेवा समाज कतारले सामाजिक क्षेत्रमा योगदान पुर्याएका तीन जना अग्रज व्यक्तित्वलाई विशेष सम्मान गरेको थियो। सम्मानित हुनेमा रबिन मगर, डि.एन. मगर र पदम कुमार घिमिरे रहेका छन्।

रबिन मगर NRNA NCC कतारका प्रथम उपाध्यक्ष, डि.एन. मगर आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार तथा पदम कुमार घिमिरे कोशी प्रदेश समन्वय परिषद् कतारका प्रमुख सल्लाहकार हुन्।

यसैगरी कतारमा सम्पन्न महिला च्याम्पियन भलिबल कपका सहयोगी, महिला खेलाडी तथा नेपाली कला, संस्कृति र संगीत क्षेत्रमा योगदान पुर्याउने सर्जकहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो।

अधिवेशनसँगै आयोजित तीज विशेष चेलीबेटी भेटघाट कार्यक्रमले समारोहमा थप सांस्कृतिक रौनक थपेको थियो। नेपाली मौलिक परम्परा, संस्कृति तथा चाडपर्वको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। कतारमा कार्यरत नेपाली दिदीबहिनीहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै तीजको उत्साह र खुसी साटासाट गरेका थिए।

पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि तिलविक्रम मगरले आगामी दिनमा धनकुटा सेवा समाज कतारलाई थप उचाइमा पुर्याउँदै मानवीय सहयोग, सामाजिक सेवा तथा प्रवासमा रहेका नेपालीहरूको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

अधिवेशनबाट उपाध्यक्षमा रबिन मगर र योगेन्द्र बराल, महासचिवमा खेमराज खड्का, सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा किशोर बस्नेत तथा सहकोषाध्यक्षमा सन्दीप दर्लामी चयन भएका छन्।

त्यस्तै सचिवालय सदस्यमा सुमन कोइराला र लक्ष्मी क्षेत्री तथा सदस्यहरूमा गंगा तामाङ, सन्तोष लकान्द्री, सञ्जीब खाती, सोविका मगर, शान्ति लिम्बु र जुना मगर निर्वाचित भएका छन्।

