पुणेमा नेपाल–भारत आर्थिक मञ्च सम्पन्न: आयुर्वेददेखि एआईसम्म सहकार्य विस्तारमा जोड
पुणे (भारत), जुन३०- भारतको पुणेमा २०२६ जुन २६ मा आयोजित नेपाल–भारत आर्थिक मञ्चमा नेपाल र भारतबीच व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको छ।

नेपाली दूतावास र ग्लोबल इन्डिया बिजनेस फोरमको संयुक्त आयोजनामा सम्पन्न मञ्चमा कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै द्विपक्षीय व्यापार, लगानी र निजी क्षेत्रको सहकार्य विस्तारका सम्भावनाबारे धारणा राख्नुभयो। उहाँले नेपालको पर्यटन, उत्पादनमूलक उद्योग, आयुर्वेदिक उत्पादन तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा प्रशस्त अवसर रहेको उल्लेख गर्दै भारतीय व्यवसायीहरूलाई नेपालमा जिम्मेवार, दिगो र दीर्घकालीन लगानी गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल–भारतबीच आगमन तथा बाह्य पर्यटन, आयुर्वेदिक उत्पादन निर्माण, डिजिटल रूपान्तरण र एआईमा आधारित समाधानका क्षेत्रमा व्यावहारिक सहकार्यका उपायबारे पनि छलफल भएको थियो।

मञ्चले नेपालको विकास प्राथमिकतालाई पुणेको निजी क्षेत्रसँग जोड्दै प्रविधि, लगानी र उद्यमशीलताको माध्यमबाट दुवै देशबीच पारस्परिक लाभदायी आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
