सिरहा प्रशासनद्वारा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा आपसी भाइचारा कायम राख्न सबै नागरिकसँग अपिल गरेको छ। सुनसरी जिल्लामा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रशासनले सामाजिक सञ्जालमार्फत भ्रामक, उत्तेजक तथा समुदायबीच वैमनस्य फैलाउने सामग्री साझा नगर्न आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमा पुराना घटनालाई वर्तमानसँग जोडेर भ्रम सिर्जना गर्ने, कुनै धर्म, समुदाय वा संस्कृतिलाई लक्षित गरी घृणा फैलाउने, उत्तेजनात्मक अभिव्यक्ति दिने तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैलाई सचेत गराइएको छ।
प्रशासनले सिरहा जिल्ला विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा बसोबास रहेको जिल्ला भएकाले आपसी एकता, सद्भाव, सहिष्णुता र भाइचारालाई कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। शान्ति, सुरक्षा र सामाजिक सौहार्द जोगाउन नागरिक, धार्मिक अगुवा, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको प्रशासनको भनाइ छ।
साथै, समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने, कानुन हातमा लिन खोज्ने वा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

जिल्ला प्रशासन कार्यालयले सबैलाई संयमित हुन, अपुष्ट सूचना वा अफवाह नफैलाउन तथा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
