महोत्तरीको बलवा–९ अधयनपुरमा हिन्दु–मुस्लिम एकताको सन्देश, आपसी सद्भाव कायम राख्ने निर्णय

महोत्तरी टुडे     

महोत्तरी टुडे महोत्तरी, साउन १७ गते आइतबार- महोत्तरीको बलवा नगरपालिका–९, अधयनपुरमा आज बसेको स्थानीय हिन्दु–मुस्लिम समुदाय, बुद्धिजीवी तथा युवाहरूको बैठकले धार्मिक सद्भाव, सामाजिक एकता र आपसी भाइचारा कायम राख्ने निर्णय गरेको छ।

समाजमा पछिल्लो समय देखिन सक्ने सम्भावित धार्मिक तथा साम्प्रदायिक असमझदारीलाई मध्यनजर गर्दै बसेको बैठकले कुनै पनि अफवाह, भ्रम वा गलत सूचनाको पछि नलाग्ने तथा कुनै घटना वा विवाद उत्पन्न भएमा तत्काल आपसमा संवाद गरी सत्यतथ्य बुझेर समाधान खोज्ने निर्णय गरेको हो।

IMG-20260802-WA0065.jpg

बैठकले हिन्दु तथा मुस्लिम समुदायका धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्व तथा कार्यक्रमहरूमा एक–अर्काप्रति सम्मान, सहयोग र सहकार्यको वातावरण निर्माण गर्ने निर्णयसमेत गरेको छ।

 

त्यस्तै, समाजमा धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधि हुन नदिन स्थानीय स्तरमै सचेतना फैलाउने र युवाहरूलाई सामाजिक एकता तथा शान्तिको पक्षमा सक्रिय बनाउने विषयमा पनि सहभागीहरूबीच सहमति भएको जनाइएको छ।

IMG-20260802-WA0061.jpg

बैठकमा बलवा नगरपालिका–९ का वडा अध्यक्ष सनाउल्लाह शेख, अलाउद्दीन राईन, फारूक शेख, मोतिफुल शेख, भरत ठाकुर, सुरेन्द्र लुहार,उदय झा, नियामक शेख लगायत स्थानीय बुद्धिजीवी तथा युवाहरूको उपस्थिति रहेको थियो।

 

बैठकमा सहभागीहरूले जात, धर्म तथा विचार फरक भए पनि मानवता र सामाजिक सद्भाव सबैको साझा जिम्मेवारी भएको बताएका थिए। उनीहरूले कुनै पनि विवादलाई धार्मिक वा साम्प्रदायिक रूप दिनुभन्दा संवाद, सहकार्य र आपसी समझदारीमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

 

स्थानीय अगुवाहरूले अधयनपुरमा कायम रहेको हिन्दु–मुस्लिमबीचको आपसी सम्बन्ध, भाइचारा र सद्भावलाई आगामी दिनमा अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

“धर्म फरक हुन सक्छ, तर मानवता र हाम्रो समाज एउटै हो।” बैठकले यही भावनाका साथ शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै समुदायसँग अपिल गरेको छ।