विदेशबाट नेपाल फर्किने नेपालीलाई विमानस्थल सुरक्षा कार्यालयको विशेष अनुरोध: प्रलोभनमा परी सुन तथा बहुमूल्य सामान नल्याउन आग्रह

महोत्तरी टुडे     

काठमाडौं । विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान बोकेर नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आग्रह गरेको छ।

 

कार्यालयले दुबई, कतारलगायत विभिन्न मुलुकमा श्रम स्वीकृति (Labour Visa) लिएर काम गरी नेपाल फर्किने क्रममा केही नेपाली नागरिकलाई आर्थिक प्रलोभन देखाएर सुनको सिक्री, बहुमूल्य धातु तथा अन्य वस्तु नेपाल ल्याइदिन लगाउने गरेको पाइएको जनाएको छ।

 

यस्ता सामान बोकेर नेपाल फर्किने क्रममा विमानस्थलमा कानुनबमोजिम जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा यात्रु स्वयं पक्राउ परी कानुनी कारबाहीमा पर्न सक्ने कार्यालयले जनाएको छ।

 

विमानस्थल सुरक्षा कार्यालयले अपरिचित व्यक्ति, दलाल वा सुन तस्करले दिएको सुन, बहुमूल्य धातु, झोला, प्याकेट वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन यात्रुलाई सचेत गराएको छ।

 

त्यस्तै, अरूको सामान वा प्याकेटको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन, खरिद बिल वा अन्य कागजात रहेको भन्दैमा कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरिएको छ।

 

कार्यालयका अनुसार आफ्नो नाममा ल्याइएको सामानकै कारण यात्रुले ठूलो कानुनी समस्या सामना गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले विदेशबाट नेपाल फर्किँदा विशेष सावधानी अपनाउन आवश्यक छ।

 

विमानस्थलमा शंकास्पद गतिविधि वा प्रलोभनसम्बन्धी जानकारी पाएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।

 

नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौंले “सचेत बनौँ, सुरक्षित बनौँ” भन्दै विदेशबाट फर्किने नेपाली नागरिकलाई अवैध सुन ओसारपसार तथा अपरिचितको सामान बोक्ने कार्यबाट टाढा रहन आग्रह गरेको हो।

FB_IMG_1785840771246.jpg