नेकपा (एमाले)का युवा नेता तथा सांसद सुहाङ नेम्वाङलाई दोहा, कतारमा भव्य स्वागत

महोत्तरी टुडे     

दोहा, कतार।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद, उदीयमान युवा नेता सुहाङ नेम्वाङ कतार आइपुगेका छन्। प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आगामी आठौँ राष्ट्रिय अधिवेशन तथा उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन दोहा आएका नेम्वाङलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समुदाय तथा मञ्चका कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।

 

स्वागत कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव चानक पोख्रेल, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्की, निवर्तमान अध्यक्ष प्रभात त्रिपाठी, मञ्चका पदाधिकारी, मध्यपूर्व कमिटीका प्रतिनिधिहरू तथा कतारमा क्रियाशील विभिन्न सामाजिक एवं वैचारिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

अधिवेशनको तयारी पूरा

प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशन अगस्ट ७, २०२६ (शुक्रबार) दोहाको अल दफ्नास्थित Centra West Bay Hotel & Suites दफनामा आयोजना हुँदैछ। प्रमुख अतिथि नेम्वाङ कतार आइपुगेसँगै अधिवेशनको व्यवस्थापकीय तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको मञ्चका सचिव शेषराज तिमिल्सिनाले जानकारी दिए।

 

अधिवेशनमा कतारमा रहेका नेपाली श्रमिक तथा पेसागत समुदायका विविध मुद्दामाथि छलफल हुनुका साथै मञ्चको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।

 

नेपालको पछिल्लो राजनीतिक परिवेश र युवा नेतृत्वप्रतिको बढ्दो चासोका बीच सुहाङ नेम्वाङको कतार भ्रमणले यहाँ रहेका प्रवासी नेपालीहरूमा नयाँ उत्साह थपेको छ। एमालेका दिवंगत वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङका सुपुत्रसमेत रहेका नेम्वाङले कतारस्थित नेपाली समुदायका समस्या, अनुभव र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिने विश्वास गरिएको छ।

 

यसैबीच, आयोजक प्रवासी नेपाली मञ्च कतारले दोहा तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, व्यवसायी, पत्रकार तथा सामाजिक अभियन्ताहरूलाई कार्यक्रममा समयमै उपस्थित भई अधिवेशनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।