वीरगन्जमा भारतीय नम्बर प्लेटको कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद
पर्सा । वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको मोबाइल टोलीले बुधबार राति वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोक क्षेत्रमा रोकिराखिएको भारतीय नम्बर प्लेटको यूपी १६ एजे ३३०१ नम्बरको कार जाँच गर्ने क्रममा हातहतियार तथा गोली बरामद गरेको हो।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा उक्त कार जाँच गरिएको जनाइएको छ। कारभित्र बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल तथा ७.६२ एमएमका ६ थान गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका हातहतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरीका सूचना अधिकारी एवं डीएसपी प्रकाश भट्टका अनुसार कार कसले प्रयोग गरेको थियो र उक्त हातहतियार तथा गोली कुन प्रयोजनका लागि ल्याइएको वा राखिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
