देवानगञ्ज घटनाप्रति संघीय समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग

महोत्तरी टुडे     

काठमाडौं, साउन १३ — नेपाल संघीय समाजवादी पार्टीले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न तनावका क्रममा एक व्यक्तिको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

 

पार्टीका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

 

विज्ञप्तिमा मृतकका परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न र घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, निष्पक्ष तथा स्वतन्त्र छानबिन आयोग गठन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ।

 

पार्टीले पछिल्लो समय कोशी प्रदेश, मधेश प्रदेशलगायत विभिन्न स्थानमा धार्मिक समुदायलाई लक्षित गरी भएका कुटपिट, लुटपाट, आगजनी, धार्मिक स्थलमाथिको आक्रमण तथा सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता आपराधिक गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याई प्रत्येक नागरिकको जीवन, सम्पत्ति, आस्था र धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ।

 

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मानलाई कायम राख्नु सबैको साझा जिम्मेवारी भएको पार्टीको धारणा छ। घटनाको गहिरो अनुसन्धान गरी वास्तविक दोषीलाई उन्मुक्ति नदिन पनि विज्ञप्तिमा जोड दिइएको छ।

 

पार्टीले सबै नागरिकलाई अफवाह र उत्तेजनाबाट टाढा रहन, संयम अपनाउन तथा धार्मिक, जातीय र सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्न हार्दिक अपिल गरेको छ।

IMG-20260729-WA0090.jpg