कतारको हमाद विमानस्थलमा प्रधानमन्त्री बालेन्द्र शाह, न्युयोर्कतर्फ प्रस्थान गर्दै

आशिक हुसैन शेख     

दोहा, कतार । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

 

प्रधानमन्त्री शाह मंगलबार साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। दोहामा ट्रान्जिटका क्रममा प्रधानमन्त्री शाह हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका छन्।

 

प्रधानमन्त्री शाहलाई दोहामा नेपाली दूतावासका अधिकारी तथा सम्बन्धित प्रतिनिधिहरूले आवश्यक समन्वय र स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यसपछि उनी कतारबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्।

 

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुँदै प्रधानमन्त्री शाहले नेपालको समसामयिक अवस्था, राष्ट्रिय प्राथमिकता तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

 

यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

 

प्रधानमन्त्री शाहको महासभा सहभागितालाई नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महासभामा नेपालको राष्ट्रिय हित, शान्ति, विकास, जलवायु परिवर्तन तथा बहुपक्षीय सहकार्यलगायत विषयमा नेपालको दृष्टिकोण प्रस्तुत हुने अपेक्षा गरिएको छ।

 

प्रधानमन्त्री शाह न्युयोर्क पुगेपछि संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय कार्यक्रममा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।