संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय बहस सुरु, नेपालबाट परराष्ट्रमन्त्रीसहितको प्रतिनिधिमण्डल सहभागी
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूको सहभागिता रहने उच्चस्तरीय राजनीतिक बहस न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु भएको छ।
मंगलबारदेखि सुरु भएको उच्चस्तरीय बहसको पहिलो दिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ।
यस वर्षको महासभा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको छ।
उच्चस्तरीय राजनीतिक बहसका क्रममा विश्वभर जारी युद्ध, आणविक हतियारको जोखिम, बढ्दो गरिबी तथा जलवायु संकटबाट उत्पन्न मानवीय र पूर्वाधार क्षतिलगायतका विषयमा राष्ट्र तथा सरकार प्रमुखहरूले धारणा राखिरहेका छन्।
बहसमा परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, भ्रमण दलका सदस्य तथा नेपाली नियोगका कूटनीतिक कर्मचारी सहभागी छन्।
यसैबीच, महासभाको उच्चस्तरीय राजनीतिक बहसलाई नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
