मृग जोगाउने क्रममा रौतहटमा पेट्रोल बोकेको ट्यांकर पल्टियो, आगलागीपछि पूर्ण रूपमा जलेर नष्ट

महोत्तरी टुडे     

महोत्तरी टुडे रौतहट। आज बिहान रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित धन्सार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्यांकर पल्टिँदा आगलागी भएको छ।

 

प्रहरीका अनुसार बाराको अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर चालकले सडकमा आएको मृग जोगाउने प्रयास गर्दा दुर्घटनामा परेको हो। ट्यांकर पल्टिएलगत्तै आगलागी भएको थियो।

 

सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

 

आगलागीबाट ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।